खुलामञ्चमा फुटबल मैदान बनाउने महानगरको योजनाप्रति आपत्ति

काठमाडौं, पुस २९ गते । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने योजनाप्रति अकुपाई टुँडिखेल अभियानले आपत्ति जनाएको छ ।

अभियानले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल मैदान निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको र त्यसप्रति आपत्ति जनाएको हो ।

खुल्लामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व भएकाले फुटबल ग्राउन्ड निर्माण गर्न नहुँने अभियानले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको महानगरले जनाएको छ ।

यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो । त्यसका लागि कार्यपालिका बैठकमा सहमति पनि जुटाएको थियो । तर, सर्वत्र विरोध भएपछि तत्कालका लागि पछि हटेको थियो ।