नेतृत्वलाई प्रश्न गरेकै कारण कांग्रेसमा निष्कासन हुने समस्या छैन : प्रकाशशरण महत

नुवाकोट — कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा जस्ताे कारबाही, निलम्बन र निष्कासनकाे समस्या कांग्रेसमा नरहेकाे बताएका छन् ।

Laxmi sunrise bank 2034

नुवाकोटको पञ्चकन्या– ४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं. १ ले आयोजना गरेकाे ‘नेपाली कांग्रेसको एक सयदिने कार्यक्रम’अन्तर्गत प्रशिक्षण कार्यक्रममा बाेल्दै उनले भने, ‘नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्कासन हुने समस्या छ । वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्धतिको अभ्यास, विधिको शासन र नीति प्रधान भएकै कारण कांग्रेसमा सो समस्या छैन ।’

कांग्रेस प्रवक्ता डा. महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताए । पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न कांग्रेस सफल हुँदै आएको  उनकाे भनाइ थियाे । डा. महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन् । उनले भने, ‘म ०८४ सालको चुनाव यहीँ (नुवाकोट) बाटै लड्छु ।’

प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा. केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल १ नंं. क्षेत्रीय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए ।