माओवादीले ६ महिने अभियान चलाउने

काठमाडौँ —   नेकपा (माओवादी केन्द्र)ले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी ६ महिने अभियान चलाउने भएको छ।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

Laxmi sunrise bank 2034

देश गहिरो संकटमा पर्न लागेकाले अग्रगामी विचारसहित जनतालाई सुसूचित गर्ने र रुपान्तरणको महान् प्रक्रियामा जाने गरी अभियान सञ्चालन गर्ने निर्णय भएको सापकोटाको भनाइ छ।

‘अब हामीले रूपान्तरण भएर जनताको बिचमा जानुपर्छ भनेर आज हाम्रो पार्टीका अध्यक्षले दुईवटा अभियान चलाउनुपर्छ भन्नुभएको छ। एउटा मदन भण्डारी लोकमार्गलाई आधारित गरेर र अर्को हुलाकी राजमार्गलाई केन्द्रित बनाएर ६ महिना जनतामा  जानुपर्छ। जनताले के चाहेका छन्, के खोजेका छन्, जनता के विचार गर्दै छन्, यी समग्र कुराको अध्ययन गरी जनताबाट सिक्ने र सिकाउने गरी रूपान्तरणको एउटा महान् प्रक्रियामा जानुपर्छ भन्ने छ,’ बैठकपछि सापकोटाले भने।

Shivam Cement

आजको स्थायी कमिटी बैठकले पुस २१ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा पनि तय गरेको छ।