कमल थापासँग पूनर्मिलनपछि लिङदेनले भनेः राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ

काठमाडौं  — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङ्कुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन्।

‍राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङ्गो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए।

उनले भने, ‘अहिले प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको छ। त्यसको अन्त्यको लागि हामी बाहेक देशमा कोही विकल्प र शक्ति छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ। त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु। सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं। राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ।’

Laxmi sunrise bank 2034

त्यस्तै उनले अहिले भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त भएको भन्दै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको बताए। यस्तो अवस्थामा देशको अस्मिताको रक्षाको लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एकठाउँमा आउन आवश्यक रहेको उनको भनाई छ।

उनले भने, ‘देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ। भ्रष्टाचार कुशासनले आज देश आक्रान्त छ। त्यति मात्र होइन, हाम्रो भविष्यका सन्ततीको समेत भविष्य अन्यौंल बनेको छ। यस्तो अवस्थामा देशको अस्मिताको रक्षाको लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एकठाउँमा आउन आवश्यक छ।’

लोकतन्त्रका, मानव अधिकारका कुरा गर्नेहरूले चैत्र १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको उनको भनाई छ।