नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं —नेपाली राष्ट्रिय फुटबल टिम आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ। खेल आजै साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने छ।

नेपाली टिममले २ वर्षपछि घरेलु मैदानमा खेल्न लागेको हो। सन् २०२१ को नोभेम्बरमा यमनसँग खेलेयता नेपालले पहिलो पटक दशरथ रंगशालामा खेल्न लागेको हो। पछिल्लो समय एएफसीले दशरथ रंशगालामा अन्तर्राष्ट्रिय मान्यता नदिँदा नेपालले घरेलु मैदानमा हुने खेल पनि विदेशमै खेल्दै आएको छ।

घरेलु मैदानमा लामो समयपछि खेल्न पाउनँदा नेपाली टिम उत्साहित छन्। फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक म्याट रसले दुवै मैत्रीपूर्ण खेलमा जित निकाल्ने बताएका छन्। खेलअघि आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा उनले बंगलादेशसँग घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलमा जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताए।

साथै उनले बंगलादेशको टोली पनि राम्रो भएको बताउँदै नेपालका लागि यो राम्रो परीक्षण हुने बताए।

यस्तै, कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताएका छन्।

दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ। दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ। दुवै खेलबाट स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरेर विजेतालाई ट्रफी र पदक प्राप्त गरिने छ।