भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ बजे ३९ मिनेटमा

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यो वर्ष कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईले धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तका कारण उक्त समयलाई शुभ साइतका रूपमा निर्धारण गरिएको जानकारी दिए । उनका अनुसार “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, तर सर्वसाधारणका लागि मध्याह्नकालमा पनि टीका लगाउन कुनै बाधा छैन ।”

समितिले जारी गरेको पात्रो अनुसार यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुँदैछ । सो दिनदेखि यमदीपदान आरम्भ हुने र सोही दिन धनत्रयोदशी र धनतेरस पर्व पनि परेको उल्लेख छ ।

कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ५ गते बुधबार गाई, गोरु तथा आत्म (म्ह) पूजा र कात्तिक ६ गते बिहीबार भाइटीका पर्ने समितिले जनाएको छ ।

यस वर्ष नेपाल संवत् ११४६ पनि यही कात्तिक ५ गते बुधबारदेखि सुरु हुने भएको छ । शास्त्रीय वचन अनुसार प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाइने उल्लेख समितिका अध्यक्ष ढकालले गरे ।

समितिका अनुसार शास्त्रीय परम्पराअनुसार भ्रातृपूजा वा किजापूजा (नेवारी भाषामा भनिने भाइपूजा) पनि कात्तिक ६ गते नै मनाइनेछ । समितिले दाजुभाइबीच ज्येष्ठताको आधारमा टीकाटाला गर्नु शास्त्रसम्मत हुने स्पष्ट पारेको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म यमपञ्चक पर्व मनाइन्छ । यस अवधिभर परिवारका सदस्यहरूको नाम उच्चारण गर्दै यमदीप दान गर्ने परम्परा रहिआएको छ, जसले यमयातनाबाट मुक्ति दिलाउने विश्वास गरिन्छ