बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर – तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलको मूल्य तेब्बर दरमा वृद्धि भएको छ । लक्ष्मी पूजाको अवसरमा सयपत्री फूल र माला हिजोभन्दा तीनगुणा बढी मूल्यमा बिक्री भइरहेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अघि प्रति किलो रु ३०० मा बिक्री गरेको सयपत्री फूल अहिले रु ७०० मा पुगेको छ । बजारमा व्यापारीहरूले उक्त फूललाई रु एक हजारसम्ममा बिक्री गरेका छन् । मध्यपुरथिमि नगरपालिका–५ का प्रकाश झाले एक सयपत्री फूलको माला रु १,५०० मा खरिद गरेको जानकारी दिए ।

राधेराधे सडक पेटीमा फूल र माला बिक्री गर्ने व्यापारी प्रमिला लामाले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक र पाँचखाल क्षेत्रका फूल एकसाता अघि प्रति किलो रु ३०० मा आएकोमा अहिले रु ६०० पुगेको बताइन् । खुला रूपमा खेती गरिएको सयपत्री फूल किलोको रु ८०० र टनेलमा उत्पादन गरिएको फूल किलोको रु १,३०० मा बिक्री भइरहेको छ। मखमली फूलको प्रतिमाला व्यापारीहरूले रु १०० मा बिक्री गरिरहेका छन् ।

गुण्डुका पुष्प व्यवसायीहरूले यस वर्ष गुण्डुबाट मात्रै करिब पाँच करोड रुपैयाँको फूल तथा माला बिक्री भएको जानकारी दिएका छन्। यहाँ करिब ७०० रोपनी जग्गामा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती भइरहेको छ ।

फूल र मालासँगै लक्ष्मी पूजाका लागि आवश्यक भोगटे र बिमिरोको मूल्य पनि बढेको छ । भोगटे रु ६० बाट रु १५० र बिमिरो रु ३० बाट रु १००–१५० मा पुगेको छ। बजारमा फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।