आज पनि अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । तर मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि क्रमिक रूपमा सुधार हुने अपेक्षा गरिएको छ।

महाशाखाले जारी गरेको सूचना अनुसार हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना कायम छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ।

आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षा र हिमपातको सम्भावना भएकाले सर्वसाधारण, किसान र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले आगामी २४ घण्टामा वर्षा र हिमपातको तीव्रता घट्दै जाने र क्रमशः मौसम सामान्य अवस्थामा फर्किने जनाएको छ। तर पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन समेत सुझाव दिइएको छ।