अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा अबदेखि शुल्क लाग्ने

काठमाडौं – सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

मन्त्रालयका अनुसार, नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि रु ५ हजार शुल्कसहित आवेदन दिनुपर्नेछ । त्यस्तै, दर्ता भइसकेका सञ्चारमाध्यमले प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्दा प्रति पटक रु २ हजार ५ सय शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि पत्रपत्रिका र अन्य प्रकाशनहरू जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका थिए भने अब सूचना तथा प्रसारण विभागमार्फत दर्ता र नियमन हुने व्यवस्था लागू गरिएको छ ।

सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संशोधित नियमावली बुधबार नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो । मन्त्रालयले नयाँ नियमावली लागू भएसँगै अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन लागेको जनाएको छ।