म्याग्दी, — कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा पाइने दुर्लभ पन्छी चिरकालिजको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको पछिल्लो अध्ययनअनुसार सन् २००९ मा भएको अध्ययनको तुलनामा यसपालि चिरकालिजको संख्या तीन गुणा वृद्धि भएको पाइएको हो ।
सङ्घले मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुन्जो, टिटीताल, खन्ती र झिप्रा देउराली क्षेत्रमा गरेको अध्ययनमा सन् २००९ मा ६ जोडी चिरकालिज देखिएकोमा यसपालि १८ जोडी फेला परेको अनुसन्धानकर्ता विराट रजकले जानकारी दिए ।
रजकका अनुसार समुदायमा संरक्षण सचेतना, चोरी सिकार नियन्त्रण, र बासस्थान नजिक मानवीय गतिविधि व्यवस्थित हुँदा चिरकालिजको संख्यामा सुधार आएको हो । घाँस काट्ने र चौपाया चरनका कारण झाडी हट्दा आहारा खोज्न सजिलो हुने भएकाले पनि चिरकालिजका लागि अनुकूल वातावरण बनेको बताइएको छ ।
यस दुर्लभ चराको वैज्ञानिक नाम ‘ऋबतचभगक धबििष्अजष्ष्’ (ऋजष्च एजभबकबलत) हो । नेपालमा यसलाई चिरकालिज, सुदूरपश्चिमतर्फ चेडु चराका नामले चिनिन्छ । यो चरा समुद्री सतहबाट १,४०० मिटरदेखि ३,६०० मिटर उचाइसम्म पाइन्छ । सामान्य कालिजभन्दा भिन्न रूपमा, भालेको पुच्छर लामो, आँखाको रङ रातो र शरीरमा सेतो थोप्ला भएका कालो बुट्टाहरू हुन्छन्, जबकि पोथी आकारमा सानो र पुच्छर छोटो हुन्छ ।
नेपालमा चिरकालिज मुख्यतः अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, रारा राष्ट्रिय निकुञ्ज र पर्वत, म्याग्दी, बागलुङलगायत उच्च पहाडी क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार यस प्रजाति लोपोन्मुख सूचीकृत छ ।
नेपाल पन्छीविद् सङ्घले दातृ संस्था टोलेडोजुको सहयोगमा मुस्ताङपछि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा पनि अध्ययन सुरु गरेको छ । अध्ययनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले जानकारी दिए ।
राईका अनुसार दुर्लभ पन्छी अवलोकनका लागि विदेशी पर्यटक आकर्षित हुन थालेका छन्, जसले स्थानीय रोजगारी र आयआर्जनमा पनि सहयोग पु¥याउनेछ ।



