काठमाडौं, – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा (एमाले) युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दिएको छ ।
युवा संघका नेताहरू बिहीबार साइबर ब्युरो कार्यालय पुगेर मेयर शाहले सामाजिक सञ्जालमा लेखेको एक आपत्तिजनक स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै उजुरी दर्ता गराएको बताएका छन् ।
साइबर ब्युरोका स्रोतका अनुसार बालेन शाहविरुद्ध उजुरी परेको पुष्टि भएको छ । तर, उजुरी दर्ता प्रक्रिया अघि बढाउने काम भइरहेको ब्युरोका एक अधिकारीले जानकारी दिए ।
मेयर शाहले यही १६ कात्तिकको मध्यराति आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलप्रति आपत्तिजनक शब्द प्रयोग गर्दै स्टाटस लेखेका थिए । सो स्टाटस उनले केही समयपछि आफ्नै पेजबाट हटाएका थिए ।
युवा संघले उक्त टिप्पणीले लोकतान्त्रिक दलहरूको प्रतिष्ठामाथि आँच पु¥याएको र सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्ता अभिव्यक्ति अनुचित भएको दाबी गरेको छ ।



