ललितपुर — युनेस्कोले ‘सङ्गीतको सिर्जनात्मक सहर’को मान्यता पाएसँगै ललितपुर महानगरपालिकाले जेष्ठ पूर्णिमाको दिनलाई ‘राष्ट्रिय सङ्गीत दिवस’का रूपमा घोषणा गर्न आवश्यक पहल गर्ने भएको छ ।
ललितपुर महानगरपालिकाले शुक्रबार पाटन सङ्ग्रहालयमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सङ्गीतको क्षेत्रलाई सुदृढ पार्न र आगामी चार वर्षका लागि लागू हुने कार्ययोजना सार्वजनिक गरेको हो । कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई युनेस्कोबाट प्राप्त अन्तर्राष्ट्रिय मान्यता सङ्गीतका माध्यमबाट सांस्कृतिक तथा आर्थिक समृद्धिमा रूपान्तरण गर्ने उद्देश्य रहेको बताए ।
महानगरले सङ्गीतलाई उद्योगका रूपमा स्थापना गर्न नीति निर्माण र पहल गर्ने, जेष्ठ पूर्णिमालाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गराउने, र स्थानीय सार्वजनिक स्थलहरूलाई सवारीरहित क्षेत्र बनाइ खुला साङ्गीतिक कार्यक्रम आयोजना गर्न पूर्वाधार तयार पार्ने योजना बनाएको उनले जनाकारी दिए ।
युनेस्कोबाट सदस्यता प्राप्त गरेपछि ललितपुरले सङ्गीतका अनुसन्धानकर्ता, कलाकार र स्थानीय सङ्गीतकर्मीबीच सहकार्य गरी आर्थिक उपार्जनका नयाँ मार्ग पहिल्याउने र परम्परागत तथा समकालीन दुवै प्रकारका सङ्गीतका सीप विद्यालय तहसम्म पु¥याउने कार्यक्रम अघि सारेको छ ।
विद्यालयमा सङ्गीत शिक्षकको व्यवस्था, शिक्षक तालिम, विद्यार्थीका लागि छात्रवृत्ति, र विद्यालय–समाज सहकार्य कार्यक्रम सञ्चालन गर्ने योजना पनि महानगरले बनाएको छ ।
सङ्गीत स्रोत केन्द्र र अभिलेख निर्माण
महानगरले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गीतज्ञ तथा अनुसन्धानकर्ताका लागि उपयोगी हुने स्थानीय सङ्गीत परम्परा र वाद्य यन्त्रहरूको अभिलेख राख्ने ‘सङ्गीत स्रोत केन्द्र’ सञ्चालन गर्ने तयारी गरेको छ ।
त्यस्तै, परम्परागत बाजा संरक्षण र बजाउने सीप जगेर्ना गर्न तालिम आयोजना गर्ने, सीपलाई पेशाको रूपमा स्थापित गर्दै परम्परागत वाद्यगुरुहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने योजना पनि ल्याइएको छ ।
सहकार्य, अनुसन्धान र युवाका लागि अवसर
महानगरले युनेस्कोको अन्य सङ्गीत सहरहरूसँग सहकार्य र सहभागितामा वार्षिक सङ्गीत महोत्सव आयोजना गर्ने, प्रत्येक वडामा युवा केन्द्र स्थापना गरी युवालाई सङ्गीत र सिर्जनात्मक क्षेत्रमा संलग्न गराउने, र सङ्गीत अनुसन्धानका लागि विज्ञहरूको टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यससँगै परम्परागत डबली र सार्वजनिक प्रदर्शन स्थलहरूको स्तरोन्नति, सामाजिक तथा वातावरणीय विषयमा सङ्गीतमार्फत जनचेतना फैलाउने छलफल कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यहरू महानगरको प्राथमिकतामा रहेका छन् ।
“युनेस्कोबाट ‘सङ्गीतको सहर’का रूपमा घोषणापश्चात् हामी परम्परागत, समकालीन र आधुनिक सबै प्रकारका सङ्गीतको जगेर्ना गर्दै विशेषतः युवालाई सहभागी गराउनेछौं महानगर प्रमुख महर्जनले भने, । सङ्गीतलाई रोजगारी सृजनाको माध्यम बनाउँदै ललितपुरको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अझ प्रखर बनाउन प्रयास हुने उनको भनाई छ ।”
युनेस्कोले संस्कृति र सिर्जनशीलतालाई दिगो विकासको माध्यमका रूपमा उपयोग गर्न सन् २००४ मा ‘युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जाल (ग्ल्भ्क्ऋइ ऋचभबतष्खभ ऋष्तष्भक ल्भतधयचप)’ स्थापना गरेको थियो ।
यस सञ्जालमा हस्तकला तथा लोककला, डिजाइन, फिल्म, खानपान, साहित्य, मिडिया कला, सङ्गीत र वास्तुकला गरी आठवटा विधा छन् । विश्वभरका सहरहरूले यीमध्ये कुनै पनि विधामा प्रस्ताव पेस गरी सदस्यता लिन सक्छन् ।
यस वर्षको नयाँ सदस्यतासहित हालसम्म १०० भन्दा बढी देशका ४०८ सहर विभिन्न विधामा यस सञ्जालमा आवद्ध भइसकेका छन् । ललितपुर यस वर्ष ‘सङ्गीत’ विधामा चयन हुने पहिलो नेपाली सहर बनेको हो ।
महानगरले ‘ललितपुर सिर्जना कला केन्द्र’ सञ्चालनका लागि महानगर प्रमुखको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति गठन गर्ने तयारी गरेको महानगर प्रमुख महर्जनले जानकरी दिए । यसमा ललितपुरका विभिन्न सङ्गीत तथा सिर्जनात्मक संघ–संस्थाहरूका प्रतिनिधि समावेश गरिनेछ ।
सङ्गीत सहरको रूपमा ललितपुरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कलाकार, सङ्गीत साधक र नगरवासीको सहयोग अपरिहार्य रहेको महर्जनले बताए ।


