कञ्चनपुर — जिल्लाको दक्षिणी क्षेत्र जोड्ने महत्वपूर्ण बेलौरी–कलुवापुर सडक पाँच वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कालोपत्र हुन सकेको छैन । बन्साह वनक्षेत्र हुँदै कलुवापुरसम्मको झण्डै तीन किलोमिटर सडक अझै कच्ची रहेकाले स्थानीयवासी धुलाम्मे र खाल्डाखुल्डी सडकमा सास्ती खेप्न बाध्य छन् ।
विसं २०७८ मा निर्माण कम्पनीले सडक कालोपत्र गर्ने ठेक्का लिएको भए पनि निर्माण कार्य सुस्त गतिमा अघि बढेको स्थानीयले बताएका छन् । स्थानीयवासीले पटक–पटक सडक बन्द गर्दै काम तीव्र बनाउन दबाब दिँदै आएका छन् ।
कलुवापुरका व्यवसायी अक्कलबहादुर विष्टका अनुसार ठेक्का लिएर पनि निर्माण व्यवसायीले कार्य गरेजस्तो देखाउने मात्र गरेको हो । “तीन किलोमिटर सडक कालोपत्र गर्न पाँच वर्ष लाग्नु विडम्बना हो,” उनले भने,“काम नगर्ने ठेक्का तोडिनुपर्छ र क्षतिपूर्ति असुल गर्नुपर्छ।”
शुक्लाफाँटा नगरपालिका–१२ का टुङ्के बोहराले राजनीतिक संरक्षणका कारण काम ढिलो भएको आरोप लगाए । “राजनीतिक पहुँच नभएको भए अहिलेसम्म काम सकिन्थ्यो,” उनले भने, “यस्ता गैरजिम्मेवार निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नुपर्छ ।”
पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार कार्यालयले पटक–पटक निर्माण व्यवसायीलाई कार्य अघि बढाउन ताकेता गरेको छ । “गत वर्ष विनियोजित रु १ करोड २५ लाख कार्य नहुँदा फिर्ता भयो, यस वर्ष रु ५० लाख विनियोजन गरिएको छ,” उनले भने, “बजेटको अभाव छैन, निर्माण व्यवसायीले मात्र काम अघि बढाउनुपर्छ, आवश्यक परे रकमान्तर गरेर पनि बजेटको व्यवस्था गरिन्छ ।”
अधिकारीका अनुसार ठेक्का सम्झौताको म्याद आगामी चैतसम्म बाँकी छ । “निर्धारित समयभित्र काम सम्पन्न नभए ठेक्का तोड्नेबारे विचार भइरहेको छ,” उनले जानकारी दिए ।
करिब चार दशकअघि निर्माण थालिएको यो सडकका केही भाग कालोपत्र भए पनि वन्साहदेखि कलुवापुरसम्मको तीन किलोमिटर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि स्याली नदीसम्मको पाँच किलोमिटर क्षेत्रमा अझै स्तरोन्नति तथा कालोपत्र कार्य बाँकी छ ।
कालोपत्र भएका भागमा समेत सडक फुट्ने र खाल्डाखुल्डी बन्ने समस्या निरन्तर देखिँदै आएको छ । मर्मतसम्भारको अभावमा ती भाग पनि क्रमशः बिग्रँदै गएका छन् ।



