मेयर बालेनलाई दुर्गाको चेतावनी : तपाईको डोजर बस्तीमा प्रवेश गर्नु अगाडि नै तपाइएको घर भत्काउँछौ

काठमाडौं — मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गर्ने प्रयास सफल हुन नदिने बताएका छन् ।

आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रसाईले महानगरका मेयर बालेन शाह र राजु पाण्डेविरुद्ध स्थानीयहरुलाई संगठित हुन आह्वान गरे । उनले सुकुम्बासी बस्ती भत्काउने महानगरको योजनाविरुद्ध लड्ने र बस्तीको रक्षाका लागि आवश्यक कदम चाल्ने बताए । प्रसाईले बालेनमाथि विभिन्न आरोपसमेत लगेका छन् र सामाजिक सञ्जाल तथा संचारमाध्यममा फैलिएका खबरप्रति आफ्नो असन्तोष जनाए ।

उनले महानगरको डोजर बस्तीमा प्रवेश गर्नु अगाडि नै मेयर बालेनको घरमा पुगेर परिवारलाई बाहिर निकाल्न उक्साउने जस्ता अभिव्यक्तिहरू दिए । प्रसाईले राजनीतिक दलहरूले सुकुम्बासीलाई ’भोट बैंक’ मात्र बनाएको आरोप लगाउँदै आफूले मत नखोजि सुकुम्बासीहरुलाई घर दिलाउन सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

महानगरपालिकाले सुकुम्बासी बस्ती खाली गराउन यसअघि बस्तीबासीलाई एक साताको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम आज सकिँदैछ र अल्टिमेटम सकिएपछि महानगरले बस्ती खाली गराउने योजना अघि बढाउने बताइएको छ । महानगरका अधिकारीहरूले पनि आवश्यक सूचना–सम्पर्क र व्यवस्थापनका लागि तयारी जारी राखेको जनाइएको छ ।