सडक स्तरोन्नति ठेक्कामा अनियमितता भएको भन्दै नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा आर्थिक अनियमितता भएको ठहर गर्दै संलग्न नौ जना व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा सो सडक स्तरोन्नति कार्यका लागि ८३ लाख ८२ हजार ९९८ रुपैयाँ ८२ पैसाको लागत अनुमान स्वीकृत गरिएको थियो । तर ठेक्का प्रक्रियामा नियमविपरीत कार्य भएको पाइएको छ ।

२०७९ जेठ २४ गते इबिडिङ प्रणालीमार्फत जम्मा सात वटा बोलपत्र प्राप्त भए पनि मूल्याङ्कन समितिले कानुनविपरीत तरिकाले छ वटा बोलपत्र अस्वीकृत गरी एक मात्र बोलपत्रदाता दिव्या निर्माण सेवा प्रालि लाई ठेक्का दिएको अख्तियारले जनाएको छ ।

सबैभन्दा न्यून रकम कबोल गर्ने कृष्ण निर्माण सेवालाई अस्वीकृत गरी बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई ८० लाख ६२ हजार ६७८ रुपैयाँ ६७ पैसामा ठेक्का दिइएको र यी दुई कम्पनीबीच मिलेमतो रहेको प्रमाण भेटिएको आयोगको भनाइ छ।

अख्तियारको विज्ञप्तिमा भनिएको छ, “दुवै कम्पनीको बोलपत्रमा समान दस्तखत, समान ढाँचा, र एउटै मिति रहेको पाइयो।”

मूल्याङ्कन समितिले बदनियतपूर्वक दोहोरो मापदण्ड अपनाएर नगरपालिकाका कर्मचारी र निर्माण व्यवसायीबीच मिलेमतोमा बढी रकम कबोल गर्ने बोलपत्र स्वीकृत गरी सार्वजनिक निकायलाई ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बराबरको आर्थिक हानि पु¥याएको ठहर आयोगले गरेको छ।

मुद्दामा त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, एमआइएस अपरेटर हरिचन्द्र विष्ट, एनसीसीएसपी परियोजनाका इन्जिनियर तथा बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि र कम्पनीका प्रोप्राइटर भीमराज न्यौपाने रहेका छन्।

अख्तियारका अनुसार प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र १९ अनुसारको कसुर गरेको ठहर गर्दै उनीहरूविरुद्ध कैद, जरिवाना र ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसाको बिगो असुल माग गरिएको छ।