अनधिकृत रूपमा कागजात बनाएको भन्दै तिलोत्तमा नगरपालिकाले कम्प्युटर अपरेटरलाई गर्‍यो बर्खास्त

रुपन्देही, – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको ‘एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५’ मा सहभागी हुन अनधिकृत रूपमा कागजात तयार पारेकी कर्मचारीलाई बर्खास्त गरेको छ ।

नगरपालिकाको बुधबार बसेको नगर प्रमुखस्तरीय बैठकले कम्प्युटर अपरेटर सञ्जु पौडेललाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पौडेलले कार्यालयको स्वीकृति र समन्वय विना अनधिकृत ढङ्गले कागजात तयार गरेको आन्तरिक छानबिनबाट पुष्टि भएको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।

उक्त सम्मेलनमा तिलोत्तमा नगरपालिकाको तर्फबाट स्वास्थ्य शाखाका केशव भट्टराई, योजना शाखाकी सीता भण्डारी भुसाल र कम्प्युटर अपरेटर पौडेल सिफारिस भएका थिए । तर पौडेलको सिफारिसका विषयमा प्रश्न उठेपछि नगरपालिकाले छानबिन अघि बढाएको थियो ।

छानबिनपछि पौडेलले अनधिकृत रूपमा कार्यालयका कागजात तयार पारेको प्रमाणित भएपछि कात्तिक २६ गतेदेखि लागू हुने गरी उनलाई बर्खास्त गरिएको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, तीनै जना कर्मचारीहरूको जापान भ्रमण पनि २३ कात्तिकमै रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए । उनका अनुसार २४ कात्तिकमा आयोजक संस्थाबाट पनि भ्रमण रद्द भएको जानकारीसहितको इमेल प्राप्त भएको हो ।