भोजपुर — दशैं–तिहार सकिएसँगै भोजपुरका खेतबारीमा धान भित्र्याउने चहलपहल बढेको छ । किसानहरू बिहानैदेखि खेतमा धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा व्यस्त छन् ।
केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नसकेका किसान अहिले मौसम खुलेपछि धान भण्डारणमा जुटेका छन् । भिमसेन फुयाल, भोजपुर नगरपालिका–५ का किसानले भने, “हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ । वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ। आ–आफ्नो खेतको धान थन्काउने काममा जुटेका छौँ ।”
वर्षातका कारण केही क्षति पुगेको भए पनि बाँकी धान भण्डारण गर्ने काम भइरहेको छ । स्थानीय कृषक कमला थापाले बताइन्, “बर्षातले धानबाली केहि क्षति पुगेको छ, तर जे बाँकी छ, त्यसलाई थन्काउने काममा जुटेका छौँ । अहिले धान थन्काउने हाम्रो मुख्य काम बनेको छ ।”
बेमौसमी वर्षा र रोग–कीराको समस्या भएका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ। धान भोजपुरका किसानको प्रमुख अन्नबाली हो र जिल्लाका नौ वटै स्थानीय तहमा यसको खेती हुने गर्छ ।



