चन्द्रागिरिमा महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता ३५ सय

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता रु ३ हजार ५०० पुर्‍याएको छ । ‘पब्लिक सर्भिस इन्टरनेसनल’ नेपाल शाखाले राजधानीमा आयोजना गरेको ‘महिला सामुदायिक स्वास्थ्यकर्मीका सवाल’ विषयक छलफल कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले २०७४ सालमा निर्वाचित हुँदा महिला स्वास्थ्य स्वयंसेविकाको खाजा र भत्ता केवल रु २०० मात्र रहेको स्मरण गराए ।

नगर प्रमुख गिरीले आफू नेतृत्वको जनप्रतिनिधि समूहले समाजमा गरेको योगदान अनुसार भत्ता रकम बढाएर रु ३ हजार ५०० पुर्‍याएको जानकारी दिए । उनले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य चेतना जगाउन, घरघरमा फोहर वर्गीकरणको तरिका सिकाउन र जनस्वास्थ्यमा योगदान पुर्‍याउन सक्रिय परिचालन गरिएको उल्लेख गरे ,।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक दीपेन्द्ररमण सिंहले पनि घरघरमा स्वास्थ्य साक्षरता पुर्‍याउन महिला स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण रहेको बताए । साथै, सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्थानीय कर र स्रोतको प्रयोग गर्न सकिने उल्लेख गरे ,।

काठमाडौँ महानगरपालिका शिक्षा एवं स्वास्थ्य समितिका संयोजक तथा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले पनि महिला स्वास्थ्य स्वयंसेविकाको योगदानका कारण बिरामी हुँदा सेवा खोज्ने वातावरण बनेको अनुभव सुनाए ,। उनले महानगरका स्वयंसेविकालाई निःशुल्क बीमा उपलब्ध गराउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घ (हेवन) का अध्यक्ष वसन्ती महर्जन, नेपाल महिला स्वास्थ्य स्वयंसेविका सङ्घ (नेवा) का अध्यक्ष गीता थिङ र पिएसआई नेपाल शाखाका अध्यक्ष उत्तम कटुवालले महिला स्वास्थ्य स्वयंसेविकाले भोग्नुपरेका चुनौती र आगामी दिनमा आवश्यक कामका विषयमा सरोकारवालासमक्ष माग राखे ,