देशभर आगलागीका घटना बढ्दै, दुई दिनमै २३ स्थानमा आगो

काठमाडौं – सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटनामा तीव्र वृद्धि भएको देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्र सात स्थानमा आगलागीका घटना दर्ता भएका छन् । मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत र कैलालीमा आगलागीका कारण ठूलो भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका विवरणअनुसार कात्तिक २७ गते मात्रै देशभर १६ वटा आगलागीका घटनाहरू भएका थिए । बारा र रुपन्देहीका दुई स्थानसहित पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बागलुङ र हुम्लामा भएको आगलागीले दर्जनौँ घरधनी प्रभावित भएका छन् ।

यसअघि कात्तिक २६ गते देशभर ११ स्थानमा, कात्तिक २५ गते आठ स्थानमा र कात्तिक २४ गते नौ स्थानमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । सुक्खायाम, मानव असावधानी र जनचेतनाको अभाव आगलागीका प्रमुख कारण रहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।

यसैबीच, शुक्रबार ताप्लेजुङमा लेक लागेको कारण तीन जना पर्यटक बिरामी परेका छन् । कञ्चनजङ्घा आधार शिविर जाने क्रममा खामाचेन नजिक दुई जना जापानी नागरिक र आधार शिविरबाट फर्किँदै गरेकी एक अमेरिकी नागरिकलाई लेक लागेको प्राधिकरणले जनाएको छ ।

मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जंगली जनावरको आक्रमणबाट तीन जना घाइते भएका घटनाहरू पनि दर्ता भएका छन् ।