काठमाडौं – काठमाडौँ महानगरपालिका – २३ ले वडावासीका लागि खरिदार र नायब सुब्बा पदका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । वडाबासीलाई सार्वजनिक सेवामा प्रवेश गर्न प्रोत्साहित गर्दै वडाले कार्तिक २८ गते सूचना प्रकाशन गर्दै इच्छुकलाई आवेदन दिन आहावन गरेको हो ।
वडाध्यक्ष तथा विधायन समितिका संयोजक मचाराजा महर्जनले वडाभित्र सार्वजनिक सेवामा रुचि राख्ने व्यक्तिको संख्या न्यून भएकाले प्रोत्साहनका लागि यो कार्यक्रम अघि सारिएको बताए । उनले भने, “परिवार तथा छिमेकीहरू नै सार्वजनिक सेवामा नहुँदा स्थानीयमा चासो हराउँदै गएको छ। यही कारण निजामती तथा स्थानीय सेवामा महानगरबासीको उपस्थिति कम छ । त्यसैले वडाबासीलाई प्रोत्साहित गर्न लोकसेवा कक्षा सञ्चालन गर्न लागेका हौँ । पहिलो चरणमा १५ देखि २० जनालाई सहभागी गराइनेछ।”
वडाले सूचना मार्फत ३५ वर्षसम्मका पुरुष र ४० वर्षसम्मका महिलालाई कक्षामा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । आवेदन दिन इच्छुकले शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकता, बसाइँसराइको प्रमाणपत्र (लागेको खण्डमा), हालसालै खिचिएको पासपोर्ट साइज फोटो, सम्पर्क नम्बर तथा इमेल ठेगानासहित निवेदन बुझाउनुपर्नेछ ।
वडाले यस कार्यक्रममार्फत सार्वजनिक सेवामा स्थानीय युवाको सहभागिता बढ्ने अपेक्षा गरेको छ ।



