मुस्ताङ – घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १०.५ किमि चक्रपथ सडक निर्माण छ वर्षपछि अन्तिम चरणमा पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको यस सडकले अब चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी कार्यालयलाई हस्तान्तरण गरिने भएको हो ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको सडकले मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने लक्ष्य राखेको छ । घरपझोङ क्षेत्रका कालीगण्डकी नदीपारिका ग्रामीण बस्तीमा सडकको पहुँच विस्तार गर्न यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्नेछ ।
सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरका अनुसार जोमसोम–ढुम्बा पाँच किमि सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा जोड्ने ५.५ किमि ग्राभेल सडकको निर्माण अधिरूपमा सकिएको छ। अहिले सडकमा ट्राफिक संकेतका पोल गाड्ने, नाली सफा गर्ने तथा जोखिमयुक्त क्षेत्रमा ‘क्र्यास ब्यारेयर’ जडान गर्ने काम भइरहेको छ ।
यस चक्रपथ सडकको लागत २४ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सात पटकसम्म म्याद बढाउनुपरेको र २०७७ माघमै सकिनुपर्ने काम वर्षौँ ढिलो भएको अधिकारी रोकामगरले बताए । कोभिड–१९, प्रतिकूल मौसम, हिमपातलगायत कारण देखाउँदै निर्माण कम्पनीले कार्य निरन्तरता दिन ढिलाइ गरेको थियो ।
हाल सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत पुगेको छ । ढुम्बातालसम्म पाँच किमि कालोपत्र, छैरो–चिमाङतर्फ चट्टान काटेर नयाँ ट्र्याक खोलिएको ग्राभेल सडक र ६ किमि नाली निर्माणसमेत सम्पन्न भइसकेको छ ।
चक्रपथ सडक निर्माणले ठिनी, ढुम्बा, छैरो, चिमाङलगायत बस्तीहरू सडकसञ्जालले जोडिएका छन्। यसले स्थानीय कृषकलाई विशेषगरी स्याउ, तरकारी तथा अन्नबालीको ढुवानीमा सहजता प्रदान गरेको छ ।



