महानगरको अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

कास्की – पोखरा महानगरपालिकाले हिउँदे खेती प्रवद्र्धनका लागि आलु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । महानगरको कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार किसानलाई कुल २७ हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो। यसबाट करिब तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने अपेक्षा गरिएको छ ।

हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथको मालमूल, बेलबुटेल लगायतका स्थानमा आलुखेती प्रचलित छ । पोखरामा आलु उत्पादन क्षेत्र करिब १,२५० हेक्टर रहेको र उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिक टन रहेको कडरियाले बताए । वार्षिक करिब २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको उल्लेख गरिएको छ ।

आलुको बीउ उत्पादनका लागि किसानलाई अनुदान उपलब्ध गराइएको थियो। त्यही अनुदान प्राप्त किसानबाट उत्पादन भएको बीउ खरिद गरी यस वर्ष पुनः अनुदानमा वितरण गरिएको महानगरले जनाएको छ ।

त्यस्तै गहुँका पाँच हजार पाँच सय किलो र तोरीका छ सय किलो बीउ पनि अनुदानमा वितरण गरिएको छ । गहुँको बीउबाट एक हजार रोपनी र तोरीको बीउबाट अर्को एक हजार रोपनी क्षेत्रफलमा खेती हुने अपेक्षा गरिएको छ ।