ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार घर जले, १ करोड १८ लाखभन्दा बढीको क्षति

ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति लागेको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा करिब १ करोड १८ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार, स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूका व्यावसायिक घरहरू जलेर नष्ट भएका हुन् । प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमार लिम्बूको घरमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, इन्द्रकुमार लिम्बूको ४३ लाख, अनिल लिम्बूको २० लाख र विष्णुप्रसाद लिम्बूको पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।

आगलागीका कारण इन्द्रकुमार लिम्बूको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको छ । त्यस्तै, दुई मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातहरू पनि जलेर नष्ट भएका छन् ।

स्थानीयहरूले बताएअनुसार रातिको समय भएकाले आगो नियन्त्रण गर्न सकिएन र दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको हो । आगो बिहान ५ः३० बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । प्रारम्भिक अनुमानअनुसार पार्किङमा राखिएको मोटरसाइकलबाट आगो सुरु भएको आशंका गरिएको छ, तर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।