काठमाडौँ, — काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकार र सहरलाई केवल साक्षी प्रतिनिधिका रूपमा होइन, निर्णायक भूमिकासहित सहभागी गराउनुपर्ने धारणा राखेकिछन् ।
मंसिर २२ देखि २४ गतेसम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन युनियन मुख्यालयमा आयोजित सिटिज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम मा प्रस्तुतिकरण गर्दै उहाँले स्थानीय तहको शक्ति, स्वामित्व र सार्थक सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याईन् ।
उनका अनुसार भौतिक पूर्वाधार विकासलाई केवल संरचना निर्माणको रूपमा हैन, स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्यसँग जोडेर अघि बढाउँदा मात्र दिगो विकास सम्भव हुन्छ । परियोजनाको डिजाइन चरणबाटै स्थानीय सहभागिता अनिवार्य गर्नुपर्नेमा उनले जोड दिइन् ।
उपप्रमुख डंगोलले विगतमा अन्तरराष्ट्रिय लगानी तथा साझेदारीका योजना कार्यान्वयनको चरणभन्दा अघि स्थानीय तहको सहभागिता नदेखिनु कमजोरी रहेको बताउँदै यसले योजनाप्रति स्थानीय अपनत्व नबनाउने टिप्पणी गरिन् । उनले ग्लोबल गेटवेको सफलताका लागि अर्थपूर्ण सहभागिता, उत्थानशीलता, स्थानीय मूल्यसँगको सम्बन्ध र समुदायकेन्द्रित स्थानीयकरणलाई चार प्रमुख स्तम्भका रूपमा प्रस्तुत गरिन् ।
विकासका नाममा परनिर्भरतामूलक परियोजना सञ्चालन नगर्नुपर्ने उनको भनाइ थियो । विकासले कसैलाई मर्म नपार्ने, स्थानीय तहलाई पहिलो पङ्क्तिका साझेदारका रूपमा स्थापित गर्ने र लोकतान्त्रिक विकेन्द्रीकरणमार्फत सहभागी योजना अघि बढाउनुपर्ने उहाँको अभिमत थियो ।
कार्यक्रममा युरोपेली संघका विभिन्न देशका प्रतिनिधि, साझेदार राष्ट्रका स्थानीय तह र क्षेत्रीय अधिकारी सहभागी थिए। नेपालबाट उपप्रमुख डंगोलसँगै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी हुनुभएको थियो ।



