ललितपुर – महालक्ष्मी–८, लुभुस्थित वेस्ट विङ सेकेण्डरी स्कुलको रजत जयन्ती तथा २५औँ वार्षिक अभिभावक दिवस शनिबार भव्य रूपमा सम्पन्न भएको छ । दुई चरणमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले सामुदायिक स्तरमा सञ्चालित विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्ने उदाहरण वेस्ट विङ सेकेण्डरी स्कुलले प्रस्तुत गरेको बताए । उनले शिक्षा र सीप विकासलाई खेलकुद र अतिरिक्त क्रियाकलापसँग जोड्न सके विद्यार्थी सर्वाङ्गीण रूपमा विकास हुने उल्लेख गरे । “विद्यालयले अनुशासन, प्रतिस्पर्धा र सिर्जनशीलतालाई एकसाथ अघि बढाएको छ, यस्ता प्रयासलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्छ,” उनको भनाइ थियो ।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले वेस्ट विङजस्तो विद्यालय महालक्ष्मी नगरमै रहेकोमा खुसी व्यक्त गरे । उनले विद्यालयले नगरलाई चिनाउने वातावरण बनाएको र यहाँका विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापसमेत उत्कृष्ट रहेको बताए ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले सबल नेतृत्वका कारण विद्यालय निरन्तर उत्कृष्ट बन्दै गएको बताए । उनले १ हजार १ सय ५२ जना विद्यार्थी जोगाउन सक्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै विद्यालय समग्रमा शैक्षिक प्रगति गरिरहेको धारणा राखे ।
विद्यालयका प्रिन्सिपल बाबुराज महर्जनले रजत जयन्ती मनाउन पाउँदा गर्वको अनुभूति भएको बताए । उनले विद्यालय कक्षा–आधारित प्रणालीमा सञ्चालन भइरहेको र आगामी दिनमा अझै अपडेट गर्ने तयारी रहेको जानकारी दिनुभयो। बालबालिका विद्यालय उमेरमा जसरी सिकाइन्छ, भविष्यमा त्यस्तै बन्ने भएकाले अभिभावकले पनि आफ्नो दायित्व नबिर्सन आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणभक्त श्रेष्ठले विद्यालयले निरन्तर गुणस्तर वृद्धि गर्दै आएको बताए । अभिभावक–शिक्षक संघका अध्यक्ष नवीन श्रेष्ठले ऐनले दिएको अधिकार बमोजिम विद्यालयको स्तर उकास्न सक्रिय रहेको र अभिभावक तथा शिक्षकका गुनासोहरू छलफलमार्फत समाधान गर्दै आएको जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ, ललितपुरका प्रमुख प्रकाश सापकोटाले विद्यालयलाई रजत जयन्तीको शुभकामना दिँदै सामुदायिक रूपमा सञ्चालन हुने भएकाले विद्यालय बनाउने जिम्मेवारी विद्यालय परिवार र अभिभावक दुवैको भएको बताए । उनले अभिभावकको निरन्तर चासो र सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा एसईई २०८१ का प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरू, विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थी, छात्रवृत्ति प्राप्त विद्यार्थी तथा २० वर्षभन्दा बढी निरन्तर सेवा गर्ने शिक्षक–कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
विविध सांस्कृतिक प्रस्तुति र विद्यार्थी प्रतिभा प्रदर्शनसहित सम्पन्न कार्यक्रममा करिब १ हजार १ सय ५२ विद्यार्थी, ८२ जना कर्मचारी तथा सयौं अभिभावकको उपस्थिति रहेको विद्यालयले जनाएको छ ।



