काठमाडौँ – काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्मपथस्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा वडा प्रोफाइलसँगै साहित्यकार शान्तदास मानन्धर स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको हो ।
नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, महानगरपालिकाको विधायन समितिका संयोजक तथा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य र साहित्यकार खगेन्द्र संग्रौलाले संयुक्त रूपमा पुस्तकहरू सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा कुलपति सुन्दरले साहित्यकार शान्तदास मानन्धरकै योगदानका कारण आजको सार्वजनिक स्थान स्थापित भएको उल्लेख गरे । नेपाल भाषा, साहित्य र संस्कृतिको संरक्षणमा मानन्धरले देखाउनुभएको मार्ग अनुकरणीय रहेको उनको भनाइ छ ।
वडाध्यक्ष महर्जनले वडा प्रोफाइलले वडाको यथार्थ अवस्थालाई तथ्याङ्कमा उतार्ने प्रयास गरेको बताउँदै यसले आवश्यकतामा आधारित विकास योजना, सेवा प्रवाह र बजेट निर्धारणमा सहयोग पु¥याउने उल्लेख गरे । उनले साहित्यकार मानन्धरको साहित्यिक जीवनसँगै सामाजिक योगदान पनि उदाहरणीय रहेको बताए ।
वडा प्रोफाइलमा स्थायी तथा अस्थायी जनसङ्ख्या, जातजाति, विभिन्न रोगबाट प्रभावित व्यक्तिहरूको अवस्था, बेरोजगार तथा स्वरोजगार व्यक्ति, अपाङ्गता भएका र विदेश पलायन भएका व्यक्तिहरूको विवरण समावेश गरिएको छ । यस्तै घरपालुवा जनावर, सडक तथा मार्गको अवस्था, घर–भवन, मठमन्दिर, वहा, बही, इनार र चोकहरूको संख्या तथा अवस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, रेष्टुरेन्ट, किराना र कपडा पसलहरूको प्रकार तथा स्थानसम्बन्धी तथ्याङ्क पनि प्रोफाइलमा समेटिएको छ ।
कार्यक्रममा भाषा आयोगका सदस्य मानन्धर, नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष बज्राचार्य र साहित्यकार संग्रौलाले शान्तदास मानन्धरको साहित्यिक जीवन, विशेषगरी बाल साहित्यमा उहाँको योगदान र लेखन शैलीबारे चर्चा गरेका थिए ।



