कालिका नगरपालिकाको चक्रपथअन्तर्गत गैरीबारी–शेरबास सडक शिलान्यास

चितवन – कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) अन्तर्गत गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडकको शिलान्यास गरिएको छ । कालिका वडा नं. ८ गैरीबारीमा कालोपत्र सडक र पक्की नालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गरेका हुन् ।

कालिका नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा एक हजार ६५० मिटर कालोपत्र सडक र दुई हजार ६५० मिटर पक्की नाला निर्माणको काम सुरु गरिएको हो । नगरप्रमुख रेग्मीले विकास निर्माणका कार्यमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उक्त सडक निर्माणले वैकल्पिक मार्गका रूपमा काम गर्ने, पर्यापर्यटन र कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने तथा जनघनत्व न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुने र नगरका अन्य क्षेत्रमा पनि क्रमशः बाटाघाटो विस्तार हुँदै जाने नगरप्रमुख रेग्मीले बताए ।

नगरपालिकाको भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार उक्त सडक निर्माणका लागि पालिकाबाट रु एक करोड ८० लाख र प्रदेश सरकारबाट रु एक करोड २० लाख गरी कुल रु तीन करोड बजेट विनियोजन गरिएको छ। जीएराम माता कङ्कालीनी जेभीले रु दुई करोड तीन लाख ९० हजारमा ठेक्का सकारेर निर्माण कार्य अघि बढाएको हो ।

विसं २०८२ मङ्सिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।