ललितपुर महानगरपालिकाले मनायो १०७ औँ स्थापना दिवस

ललितपुर – ललितपुर महानगरपालिकाले आज १०७ औँ स्थापना दिवस विशेष समारोहका साथ मनाएको छ । महानगरपालिकाले आयोजना गरेको समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

स्थापना दिवसका अवसरमा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत ढङ्गले अघि बढाउन निर्वाचनको विकल्प नभएको बताईन् । उनले वर्तमान सरकारले सुशासन र निर्वाचनलाई दुई मुख्य एजेन्डाका रूपमा लिएर काम गरिरहेको दाबी गरिन् ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेन–जी पुस्ताबाट व्यक्त भइरहेका अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ गते निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको उल्लेख गर्दै निर्वाचन हुनै नदिने खालका स्वर उठ्नु उपयुक्त नभएको बताए ।

स्थापना दिवस समारोहलाई भव्य र सभ्य रूपमा सम्पन्न गरिएको महानगरपालिकाले जनाएको छ ।