डडेल्धुरा — चुरे गाउँपालिका–४ बालुवागडा नजिकैको जंगलको छेउमा नवलसिंह घर्ती र उहाँको परिवार विगत तीन वर्षदेखि त्रिपालमुनि बस्न बाध्य छन् । केही वर्षअघि आएको भीषण पहिरोले घरबार बगाएपछि विस्थापित बनेका घर्ती परिवार सुरक्षित बसोबासको खोजीमै आजसम्म भौँतारिनु परेको छ ।
पहिरोपछि जग्गा भाडामा लिएर घर बनाएका उनीहरूलाई जग्गाधनीले बीचैमा जग्गा नदिएपछि पुनः विस्थापित हुनुपरेको थियो । “त्यसपछि चुरे–४ कै टाँकगडा जंगलको बीचमा बस्यौँ,” घर्तीले विगत सम्झिँदै भने, “तर वन अतिक्रमण भन्दै त्यहाँबाट पनि हटाइएपछि कतै जाने ठाउँ रहेन । अहिले यही जंगलको छेउमा ओत लागेर बसेका छौँ ।”
यस्तै पीडा भोगिरहेका अर्का विस्थापित रतन नाथको कथा पनि उस्तै छ । डडेल्धुरा पुख्र्यौली घर भएका उनी सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारत जानुभएको थियो । भारतमै रहँदा आफन्तले उहाँको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नापी गराएको र फर्किँदा आफ्नो टेक्ने जमिनसमेत नभएको उनी बताउछन् ।
“म परदेशमा थिएँ, बुवाआमा पनि सानैमा बितिसक्नुभएको थियो,” रतनले भने, “फर्किँदा मेरो नाममा केही पनि रहेन ।” विसं २०६० मा चुरे–४ को गुठीको जमिनमा बसोबास गरे पनि त्यहाँबाट हटाइएपछि हाल उहाँ परिवारसहित बालुवागडा क्षेत्रमै पालमुनि बसिरहेका छन् ।
रतनको परिवार अहिले स्थानीय सूर्यमुखी आधारभूत विद्यालय नजिकैको खेलमैदान छेउमा बसिरहेको छ । “यो हाम्रो इच्छा होइन, बाध्यता हो,” उनी भन्छन्, “स्कुलले पनि मैदान खाली गर भन्छ । अब कता जाने थाहा छैन ।”
त्रिपालमुनिको जोखिमपूर्ण दैनिकी
बालुवागडा क्षेत्रमा हाल १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । तीमध्ये केही परिवारका अभिभावक रोजगारीका लागि भारत गएकाले बालबालिका मात्रै त्रिपालमुनि बस्न बाध्य छन् । जाडो, वर्षा र सर्प–बिच्छीको डर उनीहरूको दैनिकी बनेको छ ।
स्थानीय कलि नाथका अनुसार वर्षायाममा टहराभित्र पानी पस्छ, खाद्यान्न र लत्ताकपडा भिज्छ । “रातभरि बिच्छी र कीराको डर हुन्छ,” उनी भन्छन्,“कयौँ पटक बिच्छीले टोकेपछि उपचारका लागि दौडिनुपरेको छ । तर जाने ठाउँ नभएपछि यही जोखिममा बस्नुपरेको छ ।”
गिट्टी कुटेरै जीवन धान्दै
यहाँका महिलाहरूको मुख्य आम्दानीको स्रोत नजिकैको खोलाबाट सङ्कलन गरिएको गिट्टी हो । बालुवाखोलामा दिनभरि गिट्टी कुटेर बेच्दा आएको पैसाले उनीहरूको नुन–तेल चल्ने गरेको छ ।
“छोराछोरीको परीक्षा नजिकिँदै छ,” स्थानीय बुदीसरा सिंजाली भन्छन्, “गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने सोच छ ।” प्रतिघनमिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गिट्टी नै धेरै परिवारको एकमात्र सहारा बनेको छ ।
११६ परिवार पूर्ण रूपमा घरबारविहीन
चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरका अनुसार २०७७ सालको बाढी तथा पहिरोलगायत कारणले विस्थापित भएका ११६ परिवार अहिले पनि चुरे–४ का पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ का खामाहाले, खानीडाँडालगायत क्षेत्रमा अस्थायी बसोबास गरिरहेका छन् ।
सुरुमा करिब सात सय परिवार वन क्षेत्रमा बसेको देखिए पनि छानबिनपछि ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पुष्टि भएको उनले जाकारी दिए । विसं २०७९ मा वन कार्यालयले अतिक्रमण भन्दै हटाएपछि ती वास्तविक पीडितहरू अझै सुरक्षित बसोबास पाउन सकेका छैनन् ।
“विस्थापितको समस्या गम्भीर छ,” वडाध्यक्ष मगर भन्छन्,“तर स्थानीय तहसँग तत्काल व्यवस्थापन गर्न आफ्नै जमिन छैन । वन कार्यालय हटाउन खोज्छ, उनीहरूको जाने ठाउँ छैन ।”
वर्षौँदेखि त्रिपालमुनि जीवन बिताइरहेका चुरेका यी विस्थापित परिवारहरू राज्यले सुरक्षित घरबासको व्यवस्था गरिदेला कि भन्ने आशामा छन् । आफू पनि यही देशका नागरिक भएकाले सरकारले अभिभावकको भूमिका निभाओस् भन्ने उनीहरूको साझा माग छ ।



