नवलपुर – आइतबार साँझदेखि परेको शीतलहरका कारण नवलपुर जिल्लाको जनजीवन प्रभावित भएको छ । भित्री मधेसमा पर्ने यस जिल्लामा शनिबारदेखि घाम नलाग्दा जाडो बढेको भए पनि आइतबार साँझदेखि बाक्लो हुस्सुसहित शीतलहर चलेपछि चिसो अत्यधिक बढेको हो ।
आइतबार रातिदेखि सिमसिम पानी परेझैँ गरी परेको शीतलहरका कारण अत्यावश्यक कामबाहेक जिल्लावासी घरबाहिर ननिस्किएको स्थानीयवासी बताउँछन् । चिसो बढेसँगै स्थानीय बजारसमेत सुनसान बनेका छन् ।
गैँडाकोटका किराना व्यवसायी किशोर लम्सालले शीतलहरका कारण पसलमा उपभोक्ता निकै कम आएको बताए । “चिसोका कारण मानिसहरू घरबाहिर निस्किएका छैनन्, पसल खोलेर बस्ने अवस्था मात्रै आएको छ,” उनले भने,“शीतलहरले जाडो एकदमै बढाएको छ ।”
चिसो बढेपछि स्थानीयवासीहरू चोकचोकमा आगो बालेर ताप्न थालेका छन् । गैँडाकोट–२ का खगेन्द्र कँडेलले यस वर्ष आइतबार साँझदेखि चिसो धेरै बढेको भन्दै जाडो महिनाभर नगरवासीलाई आगो ताप्ने व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरे ।
“जाडोमा राज्यले हामीलाई उपेक्षा गरेको छ, वन र पालिकालेसमेत आवश्यक सहयोग गरेका छैनन्,” उनले भने, “एउटा मुढा दिएर ठूलो काम गरेजस्तो गरिएको छ, सामुदायिक वनको अवस्था पनि उस्तै छ ।”
सामुदायिक वनले उपभोक्तालाई एक–दुईवटा मुढामात्रै दिने गरेको भन्दै कँडेलले त्यो पर्याप्त नभएको बताए । “जाडो बढेपछि एक दिनमै दुई–तीनवटा मुढा सकिन्छ,” उनले भने,“वनले दिएको मुढा एक दिनलाई पनि पुग्दैन, बाँकी दिन के गर्ने ?”
जाडो अझै बढेमा निमोनियासहित चिसोका कारण लाग्ने रोग फैलिन सक्ने कँडेलको भनाइ छ । बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित हुने भएकाले राज्यले नागरिकलाई जोगाउन सक्रिय भूमिका खेल्नुपर्ने उनले बताए ,।
गैँडाकोट–१ का मनोज केसीले यस वर्ष विगतभन्दा लामो समयसम्म शीतलहर देखिएको बताए । “सोमबार राति त पानी नै परेको जस्तो शीतलहर परेको थियो, जसले जाडो झनै बढाएको छ,” उनले भने, “चार दिनदेखि घाम लागेको छैन, यो अवस्था अझै कति दिन लम्बिने हो थाहा छैन ।”
नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जाडोमा दाउरा वितरणका लागि वन क्षेत्रमा पर्याप्त दाउरा उपलब्ध रहेको जानकारी दिए ।“जाडो बढेपछि जिल्लाका पालिकाहरूलाई पत्राचार गरेर दाउरा माग्न अनुरोध गरेका छौँ,” उनले भने, “अहिलेसम्म कुनै पनि पालिकाले आवश्यक दाउरा वा मुढाको माग गरेका छैनन् ।”
जिल्ला प्रशासन कार्यालयले सिधै जनतामा दाउरा वितरण गर्नेभन्दा पनि पालिकासँग समन्वय गरेर सहजीकरण गर्ने नीति लिएको रानाले बताए । “धेरै सेवाग्राही पुग्ने सरकारी कार्यालयमा दाउरा वितरण गरिसकेका छौँ,” उनले भने, “पालिकाले माग गरेमा चोकचोकमा आगो बाल्न आवश्यकताअनुसार दाउरा उपलब्ध गराइनेछ ।”
शीतलहर तथा जाडोबाट जिल्लावासीलाई जोगाउन कार्ययोजना बनाएर काम भइरहेको उनको भनाइ छ ।



