स्याङ्जा – स्याङ्जा जिल्लामा यस वर्ष एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका अनुसार चालु वर्ष जिल्लामा कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
कार्यक्रमका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार यहाँ उत्पादन भएको सुन्तला थोकमा प्रतिकेजी ५७ रुपैयाँका दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष करिब २० करोड रुपैयाँ बढी मूल्यको सुन्तला उत्पादन भएको उनले जानकारी दिए ।
गत वर्ष जिल्लामा २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष उत्पादन मात्र होइन, उत्पादकत्व पनि वृद्धि भएको छ । यस वर्ष प्रतिहेक्टर १६.३७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ भने गत वर्ष प्रतिहेक्टर १४.६६ मेट्रिक टन मात्र उत्पादन भएको थियो ।
जिल्लामा उत्पादन भएको कुल सुन्तलामध्ये करिब ९० प्रतिशत बिक्री हुने गरेको छ । बाँकी १० प्रतिशत भने कोसेली, उपहार तथा घरायसी उपभोगमा प्रयोग हुने गरेको क्षेत्रीले बताए । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन सुन्तला बिक्रीयोग्य रहेको छ ।
यस वर्ष स्याङ्जामा सुन्तला बगैँचा विस्तारसमेत भएको छ । गत वर्ष २ हजार २५० हेक्टर क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचा यस वर्ष १५० हेक्टर वृद्धि भई २ हजार ४०० हेक्टर पुगेको छ । उत्पादनशील क्षेत्रफल पनि बढेर गत वर्षको १ हजार ३७० हेक्टरबाट यस वर्ष १ हजार ४२० हेक्टर पुगेको छ ।
त्यसैगरी हुर्कँदो सुन्तला बगैँचाको क्षेत्रफल पनि बढेको छ । गत वर्ष ८८० हेक्टर रहेको हुर्कँदो बगैँचा यस वर्ष ९८० हेक्टर पुगेको छ ।
विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन घोषणा गरिएको थियो । आव २०७५÷७६ देखि जिल्लालाई सुन्तला सुपरजोन घोषणा गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएपछि किसानहरू सुन्तलाखेतीतर्फ थप आकर्षित भएका छन् ।
स्याङ्जामा सुन्तलाखेतीलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिक रूपमा विकास गर्ने क्रम तीव्र बनेको छ । पाखो, भिरालो तथा बारीका जमिन सदुपयोग गर्दै किसानहरूले सुन्तला बगैँचा विस्तार गरिरहेका छन् ।
पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा र अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्रका रूपमा परिचित छन् । यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत ठूला सहरमा आपूर्ति हुँदै आएको छ ।
जिल्लामा सुन्तला व्यवसाय किसानको मुख्य आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको छ ।



