कोटगढीको संरक्षण र प्रवर्द्धन गर्दै पौवादुङमा गाउँपालिका

भोजपुर — पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित गाउँपालिकाले कोटगढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो ।

गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्न रु ३५ लाखको लगानी र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ। यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ । “कोटगढी आफैँमा ऐतिहासिक सम्पदा हो । स्थानीय सरकारले यसको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित पूर्वाधार विकास र प्रचारप्रसारमा ध्यान दिइरहेका छौँ,”उनले भने, ।

यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप सुदृढ बनाउने उद्देश्यले सङ्घीय सांसद लक्ष्मी राईको संसद् विकास कोषबाट प्राप्त रु एक लाख सहयोगमा कोटगढी परिसरमा मन्दिर निर्माण गरिएको छ । पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहासप्रेमीहरूको आवागमनमा उल्लेख्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले पालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थलको एकीकृत विकासमा जोड दिइएको बताए “सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिएका छौँ। कोटगढीजस्ता ऐतिहासिकस्थलको संरक्षणले पर्यटन प्रवद्र्धनसँगै रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरेका छौँ,” उनले भने, ।

स्थानीयका अनुसार कोटगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासपछि यसको पहिचान थप उजागर हुन थालेको छ । यसले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी गराउने अवसरसमेत प्रदान गरेको छ ।

आगामी दिनमा थप पूर्वाधार निर्माण, विश्रामस्थलको व्यवस्था तथा प्रभावकारी प्रचारप्रसार गर्नसके कोटगढी क्षेत्र भोजपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटनसँग जोडेर गरिएको विकासले पौवादुङमा गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको उनीहरूको भनाइ छ ।