बैतडी – प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण बैतडी जिल्लाका सुर्नया र पञ्चेश्वर गाउँपालिकामा आर्थिक तथा प्रशासनिक कामकाज ठप्प भएको छ । दुवै स्थानीय तह महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुवै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाए पनि सम्बन्धित कर्मचारीले गाउँपालिकामा हाजिर नै नगरी बाटोबाटै अन्यत्र सरुवा भएपछि समस्या उत्पन्न भएको हो ।
सुर्नया गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक गतिविधि अवरुद्ध भएको बताए । “पटकपटक मन्त्रालयलाई आग्रह गर्दा बल्लतल्ल पठाएको प्रमुख प्रशासकीय अधिकृत पनि बाटैबाट सरुवा गरिदिएछ । समस्या समाधान हुन सकेको छैन,” उनले भने, ।
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुक यसअघि निर्वाचन आयोगमा सरुवा भएका थिए । त्यसपछि मन्त्रालयले गत पुस ६ गते खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको थियो। तर भारती गाउँपालिकामा हाजिर नै नभई जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।
यस्तै, पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीलाई मन्त्रालयले कात्तिक अन्तिम साता बैतडीकै मेलौली नगरपालिकामा सरुवा गरेको थियो । त्यसपछि मन्त्रालयले पुस १४ गते वीरसिंह भण्डारीलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाए पनि हालसम्म उनी गाउँपालिकामा हाजिर नभएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
यद्यपि, पञ्चेश्वर गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आफू बिदामा रहेकाले हालसम्म मन्त्रालयबाट सरुवा भएको औपचारिक जानकारी नपाएको प्रतिक्रिया दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा दुवै गाउँपालिकामा योजना कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता वितरण तथा कर्मचारी तलब निकासाजस्ता अत्यावश्यक सेवासमेत प्रभावित भएको स्थानीय तहले जनाएका छन् ।



