सहरी सरसफाइमा गल्ती गर्ने छुट कसैलाई छैन : डंगोल

काठमाडौं – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई पनि नभएको स्पष्ट पारेकी छन् । उनले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक तथा घरका ढोकासम्म कतै पनि फोहरका पोका थुप्रिन नहुने बताईन् ।

काठमाडौँ महानगरपालिकाभित्र फोहर संकलन, वर्गीकरण र ढुवानी गरिरहेका निजी क्षेत्रका प्रतिनिधिसँग सहरी सरसफाइको अभ्यास, दिगोपनाका लागि आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका विषयमा भएको छलफलमा उनले तोकिएको समय र विधिअनुसार फोहर संकलन हुनुपर्नेमा जोड दिईन् । “सडक नियमित रूपमा बढारिनुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी हुन्छ,” उनले भने,“आफू जिम्मेवार नबन्ने र अरूलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।”

कार्यवाहक प्रमुख डंगोलले समस्या देखिएपछि मात्रै हतार–हतार छलफल गर्ने परम्परा अन्त्य गर्नुपर्ने उल्लेख गर्दै सम्भावित समस्याको समाधानका लागि पहिल्यै तयारी गर्नुपर्ने बताए । “नागरिकसँग जोडिएका विषय हाम्रो प्राथमिकतामा छन्,” उनले भने,“सहरी सरसफाइ पहिलो प्राथमिकता हो । सहभागिता र उत्तरदायित्वबाट मात्रै यसलाई दिगो बनाउन सकिन्छ ।”

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले फोहर संकलन, ट्राफिक व्यवस्थापनलगायत विषयमा नागरिक तथा सरोकारवाला निकायबाट आएका गुनासा र सुझावलाई तत्काल सम्बोधन गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ध्रुवप्रसाद आचार्य र मीत्र घिमिरेले महानगरपालिका नेतृत्वप्रति आशावादी रहेको बताउँदै महानगरपालिकाका निर्देशनहरूको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाए । सहरी सरसफाइका विषयमा उठ्ने प्रश्नबारे उहाँहरूले बिहान ५ बजेदेखि नै सडक बढार्दै फोहर संकलन सुरु गरिने जानकारी दिँदै फोहर संकलनको समय थाहा हुँदाहुँदै पनि अटेरी गर्ने प्रवृत्ति समस्या भएको बताए । “यदि घरधनी जिम्मेवार हुने हो भने धेरै समस्या समाधान हुन्छ,” उनीहरूको भनाइ थियो ।

छलफलमा फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने, संकलनको समय र विधि निश्चित गर्ने, संकलनअघि पूर्वसूचना दिने, क्षमताभन्दा बढी फोहर सवारीसाधनमा नराख्ने, सवारीसाधनमै वर्गीकरण नगर्ने, संकलित फोहर छोपेर मात्र ढुवानी गर्ने तथा ढुवानीका क्रममा लिचेड नचुहिने सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको थियो ।

भेटघाटमा वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईसहित सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो ।

काठमाडौँ महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्रीका लागि सहरलाई सात क्षेत्रमा विभाजन गरी आय ठेक्का लगाएको छ । साथै, ‘रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल’ जस्ता फोहर व्यवस्थापनका दिगो विधिलाई प्रवद्र्धन गर्दै आएको जनाएको छ ।