गण्डकी, – कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक चुनावमा मुद्दा बन्दै आएको छ, तर पीडितका समस्या हालसम्म समाधान भएको छैन । विसं २०४८ देखि यहाँका मतदाताले कटान रोक्ने आशामा विभिन्न उम्मेदवारलाई भोट हाल्दै आएका छन् ।
सुरौदी खोलाको जलाधार क्षेत्रमा कास्की, स्याङ्जा र तनहुँका बासिन्दा बर्सेनि कटानका कारण कठिनाइमा परिरहेका छन् । यहाँ पुलको अभाव र सडक पहुँच नहुँदा स्थानीयले आफ्नो जिल्ला सदरमुकाम पोखरा पुग्न तनहुँको दुलेगाउँडा हुँदै जानुपर्छ।
स्थानीय समाजसेवी यामप्रसाद पौडेलका अनुसार कटान नियन्त्रण र तटबन्ध निर्माण गर्न सकेमा खोलासँगै आसपासको जग्गामा सिँचाइ सम्भव हुन्छ र क्षेत्रको कृषि उत्पादनले समग्र पोखरालाई आत्मनिर्भर बनाउन सक्छ। स्थानीय किसान रमेश आचार्यले कटानको समस्याको बारेमा पटक–पटक राज्यलाई जानकारी दिइए पनि पर्याप्त चासो नपुगेको गुनासो गरे, ।
खोलामा झोलुङ्गे पुल नहुँदा वर्षामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि रहेको छ । चण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोराज लामिछानेले खोलाको पानी पर्याप्त सिँचाइमा प्रयोग नहुनु क्षेत्रका खेत सुकेको बताएका छन् ।
समाजसेवी पौडेलले कुर्लिङ क्षेत्रमा तटबन्ध निर्माण गरी जलाशय बनाउने हो भने जलपर्यटन, माछापालन र खेतीयोग्य भूभागमा सिँचाइ सम्भव हुने बताए ।



