सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ – सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । बागलुङ नगरपालिका–८ सिगाना पछिल्लो समय सुन्तला गाउँका रूपमा परिचित हुँदै गएको छ । यहाँका किसानले बर्सेनि सुन्तला उत्पादन बढाउँदै लगेका छन् भने यस वर्ष मात्रै सुन्तला बिक्रीबाट करिब चार करोड रुपैयाँ गाउँभित्रिएको छ ।

गत वर्ष धादिङका व्यापारीलाई रु पाँच लाखमा सुन्तला बगैँचा जिम्मा लगाएका अनन्त खड्काले यस वर्ष भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरेका छन् । उत्पादन र मूल्य दुवै राम्रो पाएकामा खड्का खुसी हुनुहुन्छ । उहाँका अनुसार आफूजस्तै एक सयभन्दा बढी किसानले रु एक लाखदेखि सात लाखसम्म आम्दानी गरेका छन् ।

सिगानाका सुन्तला स्वादिष्ट र गुणस्तरीय भएकाले यहाँ उत्पादित सुन्तलाको बजार पोखरा, काठमाडौँ, चितवन र नारायणगढसम्म फैलिएको छ । कोदोबारी र धानखेत मासेर २०५० सालयता व्यावसायिक सुन्तलाखेती सुरु गरेका किसानले पछिल्ला वर्षहरूमा खेती विस्तारलाई तीव्र बनाएका छन् । बेँसी, पात्ले, पाखाबारी, बाँसबोट र सायकोट क्षेत्रमा सुन्तलाखेती निरन्तर विस्तार भइरहेको छ ।

गत वर्ष सुन्तला बिक्रीबाट रु तीन करोड ५० लाख आम्दानी गरेका किसानले यस वर्ष करिब रु चार करोड भित्र्याएको स्थानीय अगुवा शिवकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम अनुकूल र रोगको प्रकोप कम भएकाले उत्पादनमा वृद्धि भएको हो । गणेश कृषि सहकारीमार्फत सुन्तलाखेती प्रवद्र्धन, अनुदानमा बिरुवा वितरण र उत्पादनको तथ्याङ्क संकलनसमेत हुँदै आएको छ ।

गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काका अनुसार वडा कार्यालयले सुन्तलाको यकिन तथ्याङ्क नराखेपछि सहकारीले गत वर्षदेखि तथ्याङ्क संकलन थालेको हो । यस वर्ष सहकारीको तथ्याङ्कअनुसार चार करोडभन्दा बढी रकम सुन्तला बिक्रीबाट सिगानामा भित्रिएको छ ।

सिगानामा हाल २५० भन्दा बढी किसानका साना–ठूला सुन्तला बगैँचा छन् । यस वर्ष मात्रै ४०० नयाँ बोटले उत्पादन दिन थालेका छन् । साविक ३, ४, ५ र ७ नम्बर वडाका क्षेत्र सुन्तलाका लागि विशेष उपयुक्त मानिन्छन् । अधिकांश किसान सहकारीमा आबद्ध रहेकाले उत्पादन र बजारीकरण सहज भएको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले बताए ।

टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गङ्गा केसीलगायत किसानले पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन् । बगैँचा विस्तार, नियमित मलजल र प्राविधिक सहयोगका कारण सिगानाको सुन्तलाखेती झनै फस्टाउँदै गएको छ ।