तनहुँमा सुन्तला बिक्रीबाट साढे ४५ करोड आम्दानी

तनहुँ, – तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे ४५ करोड आम्दानी गरेका छन् । गत वर्ष रु ४२ करोड बराबरको सुन्तला बिक्री भएकोमा यस वर्ष रु साढे ३ करोड बढी कारोबार भएको हो ।

कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारका अनुसार जिल्लामा १ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । त्यसमध्ये ९७७ हेक्टर क्षेत्रफलबाट उत्पादन भएको उनले जानकारी दिए ।

उनका अनुसार यस वर्ष जिल्लामा ११ हजार ८२१.७ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादनमध्ये औपचारिक रूपमा ५ हजार ८२१.९ मेट्रिकटन सुन्तला बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

तनहुँको आँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्र सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा प्रख्यात मानिन्छन् ।

कृषि विकास कार्यालय प्रमुख परशुराम अधिकारीले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसानको आकर्षण बढ्दै गएको बताए ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला दमौली, पोखरा र काठमाडौँका व्यापारीले खरिद गर्दै आएका छन् । व्यापारीहरू बगैँचासम्मै पुगेर सुन्तला खरिद गर्ने भएकाले किसानले बजारको समस्या भोग्न नपरेको र थप उत्साहित देखिएको कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालयले अनुदान कार्यक्रमअन्तर्गत किसानलाई निःशुल्क बेर्ना, नयाँ क्षेत्र विस्तारका लागि खाल्टो खन्ने, सिँचाइका लागि पोखरी निर्माण, अनावश्यक हाँगा काट्ने मेसिन खरिद लगायतका विषयमा सुन्तला जात फलफूल विकास कार्यक्रममार्फत सहयोग गर्दै आएको सूचना अधिकारी परियारले बताए ।

कार्यालयका अनुसार किसानलाई सुन्तलामा लाग्ने रोग र किराको व्यवस्थापनबारे जानकारी दिन स्थलगत अभ्यासमूलक तालिम सञ्चालन गर्ने र आवश्यक उपकरण हस्तान्तरण गरी प्रोत्साहन गर्ने कार्य पनि जारी छ ।