उदयपुर, – उदयपुरको सिद्धिचरण राजमार्गअन्तर्गत मिर्चैया–कटारी–घुर्मी खण्डको जीर्ण अवस्थाले स्थानीयमा आक्रोश बढेको छ । दुई दशकदेखि कालोपत्रे हुने आश्वासन दोहोरिँदै आए पनि सडकको अवस्था उस्तै रहेपछि मतदातामा विकासप्रति गहिरो अविश्वास देखिएको छ ।
कटारी–८ का स्थानीय बेदबहादुर तामाङसहित धेरै नागरिकले सडकको धुलो, जोखिमपूर्ण यात्रा र बिग्रँदो जनजीवनलाई चुनावी वाचासँग जोडेर असन्तोष व्यक्त गरेका छन् । २०६४ यता भएका चार निर्वाचनमा प्रतिनिधि फेरिए पनि सडक स्तरोन्नति नहुँदा स्थानीयले यसलाई ‘मौन जनविद्रोह’को रूपमा व्याख्या गर्न थालेका छन् ।
७२ किलोमिटर लामो यो सडक पूर्वी पहाडका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई तराईसँग जोड्ने मुख्य मार्ग हो । तर सडकको दुरावस्थाका कारण व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको स्थानीयको गुनासो छ । धुलो र जोखिमपूर्ण यात्राका कारण व्यवसाय धराशायी, युवाहरू पलायन तथा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।
चालु आर्थिक वर्षमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भए पनि प्रक्रियागत ढिलाइ र स्रोत सुनिश्चितता नहुँदा काम अघि बढ्न सकेको छैन । यसैबीच आगामी फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा मतदाताको मुख्य प्रश्न उही रहेको छ— यसपटक सडक बन्छ कि फेरि चुनावी मुद्दामै सीमित रहन्छ ?
स्थानीयको माग स्पष्ट छ ः आश्वासन होइन, कालोपत्रे सडक।



