सार्वजनिक यातायात सुधारमा काठमाडौं महानगरको जोड, सुरक्षित र एकीकृत प्रणाली विकास गर्ने योजना

काठमाडौं – काठमाडौं महानगरपालिकाले निजी सवारीसाधनको प्रयोग घटाएर सार्वजनिक यातायातलाई प्राथमिक विकल्प बनाउने लक्ष्यसहित सार्वजनिक यातायात प्रणाली सुधारमा जोड दिएको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातलाई अत्याधुनिक, एकीकृत, सुरक्षित र भरपर्दो बनाउन महानगर खुला रहेको बताईन् । “निजी कार छोडेर सार्वजनिक यातायात रोज्ने अवस्था सिर्जना गर्नु हाम्रो लक्ष्य हो,” उनले भनिन्, “कामबाट फर्किँदा गाडी नपाउने, भीडभाड र असुरक्षाका कारण महिला र किशोरीले दुव्र्यवहार भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।”

विश्व बैंकका प्रतिनिधिसँग आइतबार भएको छलफलमा डंगोलले स्थानीय आवश्यकता र अवस्थाअनुसारको सार्वजनिक यातायात प्रणाली विकास गर्न अध्ययनका आधारमा काम गर्ने बताईन् ।

यसै दिन संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीसँग परिषद्ले गरेका काम, आगामी योजना र सुधारका विषयमा छलफल भएको थियो। छलफलमा जिआइएस सेवा, स्मार्ट ट्राफिक मोनिटरिङ प्रणाली, एकीकृत एप, तथ्यांक संकलन र रुट व्यवस्थापनका विषयमा कुराकानी भएको छ ।

साझा यातायातका अधिकारीसँगको छलफलमा पाटन अस्पतालदेखि विभिन्न अस्पताल जोड्ने तथा कलंकी–कालीमाटी–त्रिपुरेश्वर–थापाथली–माइतीघर–बानेश्वर–तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्रीकालीन विद्युतीय बस सञ्चालन सम्भावनाबारे पनि चर्चा भएको छ।

महानगरले पूर्वाधार सुधार गर्दै वातावरणमैत्री, यात्रुमैत्री सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनमा प्राथमिकता दिएको छ । सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली, वास्तविक समय सूचना सेवा, बस बिसौनी तथा सार्वजनिक शौचालय निर्माण, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति र साइकलमैत्री सडक व्यवस्थापनजस्ता योजना अघि सारिएका छन् ।

साथै यातायातसम्बन्धी तथ्यांक संकलन, रुट निर्धारण, सेवा विस्तार, यातायात शुल्क व्यवस्थापन तथा आवश्यक स्थानमा सवारी सञ्चालन नियन्त्रणजस्ता काम संघ, प्रदेश, स्थानीय तह, निजी क्षेत्र र समुदायको सहकार्यमा अघि बढाइने महानगरले जनाएको छ ।