जनकपुरधाम उपमहानगरमा घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण सुरु

जनकपुरधाम, – जनकपुरधाम उपमहानगरपालिकाले घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । उपमहानगरपालिकाले नक्सा स्वीकृत नगरी निर्माण गरिएका तथा स्वीकृत नक्सामा हेरफेर गरी बनाइएका घर तथा भवनलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ ।

गत असार ३० गते सम्पन्न १३औँ नगरसभाको निर्णयअनुसार आइतबारदेखि वैशाख २५ गतेसम्म तीन महिनाको समयसीमा तोकिएको छ । उक्त अवधिभित्र आवश्यक कागजातसहित निवेदन दिई प्रक्रियामा सहभागी हुन उपमहानगरपालिकाले घरधनीलाई आग्रह गरेको छ । नगरप्रमुख मनोजकुमार साहका अनुसार तोकिएको समयभित्र अभिलेखीकरण प्रक्रियामा आउने भवनधनीमाथि कुनै कारबाही नगरी नियमानुसार संरचना नियमित गरिनेछ ।

उपमहानगरपालिकाले अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपुर्जा, घरजग्गा कर तिरेको रसिद, नागरिकता, नापी नक्सा, इन्जिनियरको प्रमाणपत्र, घरको तस्बिर, भवनको फुटप्रिन्टलगायत कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने जनाएको छ । यदि बाटो वा पहुँचमार्ग स्पष्ट नभएको अवस्थामा सम्बन्धित वडा कार्यालयको सिफारिससमेत आवश्यक पर्ने बताइएको छ ।

यस्तै, संस्थागत भवनको हकमा उद्योग तथा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, संस्थाको आधिकारिक निर्णयलगायत थप कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

नगरप्रमुख साहले तोकिएको समयसीमा नाघेर आएका निवेदनमाथि कुनै प्रक्रिया अघि नबढाइने स्पष्ट पार्दै अभिलेखीकरणसम्बन्धी सम्पूर्ण काम भू–उपयोग तथा भवन निर्माण इजाजत शाखामार्फत सञ्चालन भइरहेको जानकारी दिए ।

उपमहानगरपालिकाका अनुसार यस अभियानले अवैध तथा मापदण्डविपरीत बनेका संरचनाको तथ्यांक अद्यावधिक गर्न, सुरक्षित र व्यवस्थित शहरी विकासलाई प्रवद्र्धन गर्न तथा कर प्रशासनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।