११ वर्षपछि सुवासले पाए आमाको नामबाट नागरिकता

म्याग्दी, – बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरेका हुन् ।

बुवाको पहिचान नखुलेका कारण लामो समयदेखि नागरिकता नपाएका सुवासले १६ वर्षको उमेरदेखि सुरु गरेको प्रयास आज सफल भएकोमा खुसी व्यक्त गरे । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार उनलाई आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको हो ।

सुवासले तीन वर्षअघि आवश्यक सबै प्रक्रिया पूरा गरेर नागरिकताका लागि आवेदन दिएका थिए । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन २०८२ तथा नियमावलीको चौथो संशोधन, २०८२ अनुसार उहाँलाई नागरिकता दिइएको हो ।

नागरिकता प्राप्त गरेपछि आफूले बल्ल पूर्ण नागरिक भएको अनुभूति गरेको सुवासले बताए । शारीरिक रूपमा अपाङ्गतासमेत भएका उनी नागरिकता नहुँदा सरकारी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुका साथै बैंक खाता खोल्न र रोजगारीका अवसर प्राप्त गर्न कठिनाइ भोग्दै आएका थिए ।

हाल सुवास र उनकाी आमा आफन्तको घरमा आश्रय लिएर बस्दै आएका छन् । कमलाका जेठा र माइला छोराले नागरिकता बनाइसकेका छन् भने साइला छोराले अझै नागरिकता पाएका छैनन् ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन भएसँगै नागरिकता ऐन, २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम तथा मालिका गाउँपालिका–५ देवीस्थानकी सीमा पुनलाई पनि आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आमाको नामबाट नागरिकता प्राप्त गर्न थप केही सेवाग्राहीले आवेदन दिएका छन् । प्राप्त आवेदनको छानबिन र आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।