राष्ट्रिय सडक सञ्जालसँग जोडिएको १३ वर्षपछि ताल्चा–गमगढी सडक कालोपत्रे हुँदै

मुगु – मुगु जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने ताल्चा–गमगढी सडक १३ वर्षपछि पहिलोपटक कालोपत्रे हुने भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को बहुवर्षीय योजना अन्तर्गत सडक कालोपत्रेसहित अन्य आयोजना कार्यान्वयनका लागि १६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।

कर्णाली प्रदेश भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयले फागुन ५ गते निर्णय गर्दै, बहुवर्षीय ठेक्का सहमति निर्देशिका २०७९ अनुसार आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । ताल्चादेखि गमगढीसम्मको नौं किलोमिटर सडक कालोपत्रेसहित सञ्चालनमा ल्याउन १५ करोड ९९ लाख ३८ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

प्रदेश सांसद तथा पूर्वमन्त्री जित बहादुर मल्लको पहल पश्चात् बिभिन्न प्रक्रिया पूरा भई बजेट सुनिश्चित भएको बताइएको छ ।

सडक कालोपत्रेसँगै, कर्णाली प्रदेशमा रहेको अन्य आयोजनाहरुको पनि बजेट स्रोत सुनिश्चित भएको छ । तीमा लिखवाङ जिपसिङ झोपु–रुकुम, कमरेखोला झोपु–डोल्पा, पानिगैरी झोपु–रुकुम पश्चिम र धारीखोला मोटरेवल पुल–रुकुम पश्चिम समावेश छन्।

मुगु जिल्लाको यो सडक अघिल्ला १३ वर्षमा धुँवाधुलो र हिलोका कारण यात्रुहरुले असुविधा भोग्दै आएका थिए । उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले सडक अब गुणस्तर र मापदण्ड अनुसार निर्माण हुनुपर्ने बताएका छन् ।

सडक कालोपत्रे भएपछि यस क्षेत्रका सवारी–सञ्चार र स्थानीय विकासमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।