पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) – रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुङ्गा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।

भभइ–१२ का कोइल लोधका अनुसार नदीको यस वारि भटौलिया र पारी भभइ पर्छ । हाल दुबे थुम्हवा का एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन् ।

“उनले धेरै दुखजिलो गरेर पुल बनाउछन् । यसले उनको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आवतजावत सजिलो भएको छ । तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम रहन्छ । पुल टुट्ने डरले मानिस घाइते हुन सक्छ, सवारी साधन पनि क्षति हुन सक्छ,” उनले जानकारी दिए ।

स्थानीयका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो। मर्चवारबाट सिधै कक्रहवा, लुम्बिनी हुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पक्की पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ ।

धर्मेन्द्र लोधले भने, “पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्छ। अहिले बाँसको अस्थायी पुल भए पनि वर्षा सुरु भएपछि प्रयोग गर्न नसकिने अवस्था हुन्छ । पुल भइदिएको भए वर्षातमा पनि सहज आवतजावत गर्न सकिन्थ्यो।”

स्थानीय कुमार लोधले बताए अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ। “बाढी आउँदा कोही पनि आउनजान सक्दैन । त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ,” उनले बताए ।

स्थानीय सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल मल्लाह परिवारले निर्माण गर्दै आएको छ । उनीहरूले झण्डै एक महिना अघि बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार पार्ने गर्छन् । तयार भएको पुलमा बासमति मल्लाह दिनभरि घाटमै बस्छन् । परिवारका तीन जनाले मिलेर पुल बनाउँछन् । दिनको कहिले १००, कहिले १५० र कहिले २०० रुपैयाँसम्म आम्दानी हुने गरेको छ। बाटो हिँड्नेले ५, १० वा २० रुपैयाँसम्म “मल्लाही” तिर्छन् ।

बासमति मल्लाहले बताए अनुसार, स्थानीयले नगदमै केही रकम दिए पनि धान, चामल, गहुँ जस्ता जिन्सी (जिउका) पनि लिनुहुन्छ । जिउका बापत प्रति घर चारदेखि १० पाथीसम्म अन्न पाइन्छ ।

वरपरका १०–१२ गाउँका करिब एक हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौँदेखि सरकारसँग माग गर्दै आएका छन्। बाँसको पुलले अहिलेसम्म आवतजावत सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि पक्की पुल निर्माण अपरिहार्य भएको स्थानीय बताउँछन्।