जुम्ला, – जुम्लाको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । सरुवा भएर गएका अधिकृतको स्थानमा सम्बन्धित मन्त्रालयले नयाँ कर्मचारी नपठाउँदा गाउँपालिकाको दैनिक कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
प्रशासकीय अधिकृत नहुँदा सम्पन्न भइसकेका योजनाको भुक्तानीलगायतका कामहरू ठप्प भएका छन् । आवश्यक कर्मचारी पठाइदिन गाउँपालिकाले मन्त्रालयमा पटक–पटक पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको गुनासो छ । मन्त्रालयले नयाँ सरकार गठन भएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाउने आश्वासन दिएको अध्यक्ष रोकायाले बताए ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई गत माघको दोस्रो साता सरुवा हुनुभएको थियो । त्यसयता गाउँपालिकामा प्रशासनिक नेतृत्व रिक्त रहँदा फागुन महिनादेखि कर्मचारीको तलबसमेत निकासा हुन सकेको छैन ।
स्थानीय तहको सेवा प्रवाहमा असर परेपछि तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन स्थानीयले माग गरेका छन् ।



