निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो, तीन वर्षमा ७० प्रतिशत मात्र

गलकोट (बागलुङ), – बागलुङको गलकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन हरिचौर–मल्म–पाण्डवखानी सडक तोकिएको समयमै सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । दुई वर्षभित्र काम सक्ने सम्झौतामा ठेक्का लागेको सडक तीन वर्ष बित्दा पनि अझै पूरा हुन सकेको छैन ।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत स्तरोन्नति भइरहेको उक्त सडक २०७९ साल भदौमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ साल भदौभित्रै निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि हालसम्म करिब ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आठ किलोमिटर सडक कालोपत्रका लागि दुई पटकसम्म म्याद थप गरिए पनि कामले गति लिन सकेको छैन ।

सडक डिभिजन कार्यालय बागलुङ का सूचना अधिकारी विष्णु लामिछानेका अनुसार समयमै काम नसकिएपछि निर्माण कम्पनीलाई दोस्रो पटक म्याद थप गरिएको हो । सडक निर्माणको जिम्मा वल्र्डवाइड–लोपूर्ण जेभीले लिएको थियो ।

निर्माण ढिलाइप्रति असन्तुष्ट स्थानीयले गत कात्तिकमै आन्दोलनसमेत गरेका थिए । प्रारम्भिक चरणमा भुक्तानी समस्या देखाउँदै निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेको बताइएको छ ।

२०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त परियोजनाअन्तर्गत हरिचौरदेखि मल्मसम्मको आठ किलोमिटर सडक स्तरोन्नति, ढलान र कालोपत्र गर्ने लक्ष्य राखिएको थियो ।

यो सडक समयमै सम्पन्न भएमा बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका सम्म सिधा सडक पहुँच विस्तार हुने र क्षेत्रीय आवागमन सहज हुने अपेक्षा गरिएको छ ।