लहान नगरपालिकाका कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

सिरहा, – सिरहाको लहान नगरपालिका मा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब रोकिँदा दैनिक जीवन सञ्चालन गर्नसमेत समस्या भएको उनीहरूले बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले नगरपालिकाका सबै खाता रोक्का गरेपछि यस्तो समस्या उत्पन्न भएको बताइएको छ । एक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद साहका अनुसार मङ्सिर महिनादेखि तलबभत्ता मात्र होइन, पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र विद्यालय व्यवस्थापन अनुदानसमेत रोकिएको छ । उनले तलब नपाउँदा जीविकोपार्जन गर्न र बैंकबाट लिएको ऋणको ब्याज तिर्न कठिनाइ भइरहेको बताए ,।

नगरप्रमुख महेशप्रसाद चौधरी ले नगरपालिकाको खाता रोक्का हुनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद र राजनीतिक पूर्वाग्रह भएको दाबी गर्नुभयो। उनले नगरपालिकाका खाता रोक्का राख्नुपर्ने कुनै ठोस कारण नभएको बताउँदै राजनीतिक दबाबका कारण विवाद सिर्जना गरिएको आरोप लागाए ।

मन्त्रालयले साविकका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा लाई सरुवा गरी शिक्षातर्फका उपसचिव खिम भुजेल लाई पठाउन खोजेको थियो। नगरपालिकाले भने प्रशासनतर्फका अनुभवी उपसचिव माग गरेको बताइएको छ । सरुवा रोक्न माग गर्दै झाले प्रशासकीय अदालत मा मुद्दा दर्ता गर्नुभएको थियो । अदालतले गत फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले नगरपालिकाको खाता हालसम्म फुकुवा गरेको छैन ।

यसैबीच कर्मचारीहरूले आज इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । नयाँ वर्ष २०८३ र सिरुवा पर्वअघि नै तलब भुक्तानी नभए सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।