गण्डकी – पोखरा महानगरपालिका ले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा कृषकलाई लक्षित गर्दै अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।
महानगरपालिकाभित्रका सबै ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारीमा अनुदान कार्यक्रम अघि बढाइएको महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया ले जानकारी दिए ।
उनका अनुसार बजार क्षेत्रका ११ वडाका लागि प्रतिवडा एक–एक लाख रुपैयाँ र ग्रामीण क्षेत्रका २२ वडाका लागि प्रतिवडा दुई–दुई लाख रुपैयाँका दरले कुल ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
महानगरका ३३ वडामध्ये वडा नं. १ देखि १० र १२ नम्बर वडालाई बजार क्षेत्र तथा अन्य वडालाई ग्रामीण क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयले स्थानीय आवश्यकता पहिचान गरी बजेटअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको प्रमुख कडरियाले बताए ।
महानगरपालिकाले उक्त कार्यक्रममार्फत कृषकलाई आवश्यक उपकरण, प्रविधि तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।



