रास्वपाको केन्द्रीय समिति बैठक साेमबार : यी हुन् बैठकका एजेन्डा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। बैठकका लागि नौ वटा एजेन्डा तय गरिएको पार्टीले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झालेका अनुसार बैठकमा पार्टीका हालसम्मका गतिविधिबारे ब्रिफिङ तथा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ प्रस्तुत गरिनेछ। यसका लागि २० जना सदस्यलाई दुई–दुई मिनेटका दरले समय छुट्याइएको छ।

बैठकमा महाधिवेशन कार्यविधिको मस्यौदा, पार्टी विधान संशोधन, स्थानीय तहका उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ।

यसैगरी प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मताधिकार दिने विषय, सचिवालयका निर्णय अनुमोदन तथा विविध शीर्षकअन्तर्गत तीन प्रस्तावमाथि पनि छलफल गरिनेछ।

त्यस्तै विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचार, विषयगत विभागका योजना तयारी र नीति मन्थनका विषयमा निर्देशन दिने तथा संसदीय दलको विधान संशोधनसम्बन्धी एजेन्डा पनि बैठकमा समेटिएको प्रवक्ता झाले जानकारी दिनुभयो।

पार्टीको आगामी रणनीति, संगठन विस्तार र नीतिगत सुधारका विषयमा बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।