पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा — पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालयका अनुसार साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका प्रयोग गरेका हुन्।

कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नेपाल प्रवेश गर्ने पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन्। सो अवधिमा चार हजार १५४ भुटानी पर्यटक नेपाल आएका छन्। भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया र बेलायतका पर्यटकको आगमन उल्लेख्य रहेको छ। अमेरिकाबाट एक हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ र बेलायतबाट १८२ जना नेपाल आएका छन्।

यो नाका हुँदै भित्रिने पर्यटकहरू प्रायः लुम्बिनी, पोखरा, काठमाडौँ, चितवन र गोर्खाजस्ता प्रमुख पर्यटकीय गन्तव्यतर्फ जाने गरेको कार्यालयले जनाएको छ। यसैबीच, नेपाल प्रवेश मात्र नभई अन्य मुलुकतर्फ प्रस्थान गर्न पनि पर्यटकहरूले यही नाका प्रयोग गर्ने गरेका छन्। सोही अवधिमा काँकडभिट्टा नाकाबाट नौ हजार ९४२ पर्यटक बाहिरिएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा आठ हजार ७० पर्यटक भित्रिएकोमा यस वर्ष ४२८ ले कमी आएको देखिएको छ, जसले आगमनमा सामान्य गिरावट आएको संकेत गर्छ।

चालु आवको चैत महिनामा मात्र एक हजार छ जना पर्यटक नेपाल प्रवेश गरेका छन् भने एक हजार ५४३ जना बाहिरिएका छन्। यस अवधिमा अध्यागमन कार्यालयले छ हजार ६९१ पर्यटक भिसा, एक सय २४ नातेदार भिसा, २६ वैवाहिक भिसा र ३६ गैरआवासीय भिसा जारी गरेको छ। भिसा जारीबाट रु दुई करोड ८० हजार ५२० राजस्व संकलन भएको कार्यालयले जनाएको छ।