रसुवा – नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै पवित्र मानसरोवर तथा कैलाश पर्वत को तीर्थयात्रा पुनः सुरु भएको छ । चालु याममा हालसम्म करिब तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।
अध्यागमन कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीयसँगै रुसी र बेलायती नागरिकसमेत यात्रामा सहभागी भएका छन्। गत वर्ष यही नाका हुँदै ११ हजार ३८१ तीर्थयात्री कैलाश–मानसरोवर पुगेका थिए ।
यात्रु संख्या बढेसँगै राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामै करिब ३० लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ, जबकि गत वर्ष कुल ११ लाख २८ हजार २५० रुपैयाँ मात्र राजस्व उठेको थियो ।
धार्मिक ग्रन्थअनुसार मानसरोवर हिन्दू, बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि अत्यन्तै पवित्र तीर्थस्थल मानिन्छ । हिन्दू मान्यतामा कैलाश पर्वत भगवान् शिव र पार्वतीको निवास तथा ब्रह्माण्डको आध्यात्मिक केन्द्रका रूपमा वर्णन गरिएको छ । मानसरोवरमा स्नान गरे पापनाश हुने र मोक्ष प्राप्ति हुने विश्वास रहिआएको छ । बौद्ध धर्ममा यो क्षेत्र ध्यान र आध्यात्मिक ऊर्जाको केन्द्र मानिन्छ भने जैन धर्ममा पहिलो तीर्थंकर ऋषभदेवले ज्ञान प्राप्त गरेको स्थानका रूपमा यसको महत्व रहेको बताइन्छ ।
नेपालबाट स्थलमार्ग हुँदै मानसरोवर पुग्ने सबैभन्दा छोटो मार्ग केरुङ हुँदै जाने मानिन्छ। काठमाडौँबाट रसुवागढीसम्म करिब १३५ किलोमिटर दूरी छ भने रसुवागढी–केरुङ करिब २५ किलोमिटर पर्छ । केरुङबाट सागा हुँदै मानसरोवर पुग्न करिब ७५० देखि ८०० किलोमिटर यात्रा गर्नुपर्छ । सामान्यतया केरुङ प्रवेशपछि तीनदेखि चार दिनमा मानसरोवर पुगिन्छ भने कैलाश परिक्रमा सहितको सम्पूर्ण यात्रा १० देखि १४ दिनसम्म लाग्ने यात्रुहरू बताउँछन् ।
यससँगै सीमा परिचयपत्र वितरण पनि बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा ५९६ नयाँ र नवीकरणसहित कुल ६ हजार २९५ सीमा परिचयपत्र जारी गरिएको कार्यालयले जनाएको छ ।
तीर्थयात्रीको आवागमन बढ्दै जाँदा रसुवागढी नाका आसपास होटल, यातायात, पथप्रदर्शक सेवा तथा स्थानीय व्यापार व्यवसाय सक्रिय बन्दै गएका छन् । धार्मिक पर्यटन विस्तारसँगै सीमावर्ती क्षेत्रको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार कैलाश–मानसरोवर यात्रा पुनः गति लिँदै जाँदा नेपाल–चीन सीमावर्ती क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।



